काठमाडौँ । छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काठमाडौँ, डिल्लीबजारस्थित नापी कार्यालयअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख वलीले सम्बन्धित काममा अनावश्यक दुःख–हैरानी दिँदै घुस मागेको सूचना तथा उजुरी परेको थियो।
उजुरीमाथि अनुसन्धान अघि बढाएको आयोगको टोलीले वलीलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा भदौ ३१ गते टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार नियन्त्रणमा लिँदा वलीबाट सेवाग्राहीसँग घुसबापत लिएको भनिएको ९ लाख रुपैयाँसमेत बरामद भएको थियो।
वलीविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार बिहीबार विशेष अदालतबाट म्याद थप भएपछि अनुसन्धान अघि बढाइएको छ।




