रसुवा–नुवाकोट सडकमा फड्के र तुइनबाट आवागमन खुलाइयो

रसुवा — बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।

फलाखु खोलाको पक्की पुल र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएपछि सडकखण्डमा आवतजावत ठप्प भएको थियो। तत्कालको समस्या समाधान गर्न बेत्रावतीमा बाँस तथा काठको फड्के र स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको हो।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार बेत्रावतीमा फड्के निर्माण भइसकेपछि पैदल यात्रुका लागि आवागमन सहज भएको छ। स्याफ्रुबेँसीमा तुइन जडान गरिए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने उनले बताए।

बेत्रावतीको फड्के निर्माणपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म पैदल आवागमन सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिए। फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले सहयोग गरेका थिए।

स्याफ्रुबेँसीमा भने सुरक्षा निकायको समन्वयमा फलामे तुइन निर्माण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए। तुइन सञ्चालनमा आएपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज हुने जनाइएको छ।

त्यस्तै, बेत्रावतीको फड्के बनेपछि लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि राहत पुगेको छ।

स्थानीयवासीले भने फड्के र तुइनले तत्कालका लागि आवागमन सहज भए पनि दीर्घकालीन समाधान नभएको बताएका छन्। उनीहरूले बाढीले क्षति पुर्‍याएका पुल तथा सडक संरचनाको पुनर्निर्माणसँगै तत्काल बेलिब्रिज निर्माण गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *