काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु बैंकको इस्युअर रेटिङ ‘डबल बी प्लस’बाट घटाएर ‘डबल बी’मा झारेको छ । क्रेडिट रेटिङ एजेन्सीले बैंकले जारी गरेको १ अर्ब रुपैयाँको सबअर्डिनेटेड डिबेन्चरको रेटिङसमेत घटाइएको छ ।
सामान्यतः क्रेडिट रेटिङ घट्नु भनेको बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामाथि जोखिम बढेको संकेत हो । प्रभु बैंकको हकमा बढ्दो खराब कर्जा, कमजोर पुँजी पर्याप्तता र पूर्व उच्च व्यवस्थापनसँग जोडिएको विवादास्पद कर्जा प्रकरणलाई इक्राले मुख्य जोखिम मानेको छ ।
क्रेडिट रेटिङ घट्नुले बैंकका निक्षेपकर्ताको रकम जोखिममा पर्ने संकेत गर्दछ। यसले बैंकको ऋण तिर्ने क्षमता, वित्तीय स्थायित्व र संस्थागत सुशासनमा पहिलेभन्दा बढी जोखिम देखिएको समेत संकेत गर्छ । बैंकको रेटिङ कमजोर हुँदा यसबाट भविष्यमा स्वदेशी तथा अन्तर्राष्ट्रिय स्रोतबाट रकम जुटाउँदा लागत बढ्न सक्ने र लगानीकर्ता तथा ऋणदाताको विश्वासमा समेत असर पर्ने बिषयलाई औंल्याएको छ ।
इक्राका अनुसार प्रभु बैंकको पूर्व उच्च व्यवस्थापन संलग्न रहेको भनिएको विवादास्पद कर्जा प्रवाह र त्यससम्बन्धी अनुसन्धान अझै टुंगिएको छैन । बैंकका उच्च व्यवस्थापनका अधिकारीहरुमाथिको अनुसन्धानको परिणामले बैंकको वित्तीय स्वास्थ्य, संस्थागत साख तथा स्रोत परिचालन क्षमतामा असर पार्न सक्ने इक्राको आकलन छ ।
पछिल्लो वित्तिय विवरणअनुसार बैंकको वित्तीय अवस्था दयनीय बन्दै गएको देखाएको छ । बैंकको २०८३ असार मसान्तसम्म सम्मको विवरणअनुसार निष्क्रिय कर्जा (एनपीएल) बढेर १५.५५ प्रतिशत पुगेको छ, जुन वाणिज्य बैंकहरूमध्येकै उच्च हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ७.०१ प्रतिशत रहेको खराब कर्जा बढेर एक वर्षमै दोब्बरभन्दा बढी भएको हो । यता वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा भने ५.५६ प्रतिशत मात्र छ ।
खराब कर्जा बढ्दा प्रोभिजनिङको भार थपिएर बैंक २४ करोड १० लाख रुपैयाँ खुद नोक्सानीमा गएको छ । बैंकको खुद निष्क्रिय कर्जा ६.९६ प्रतिशत पुगेको छ भने प्रोभिजन कभरेज अनुपात घटेर करिब ६० प्रतिशतमा सीमित भएको छ । बैंकको नेटवर्थमा खुद खराब कर्जाको भारसमेत बढेर करिब ४३.५ प्रतिशत पुगेको छ ।
खराब कर्जाको दबाबले बैंकको टियर–१ क्यापिटल ८.१७ प्रतिशतमा झरेको छ । जबकि नेपाल राष्ट्र बैंकले न्यूनतम ८.५० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । कुल पुँजीकोष अनुपात ११.८३ प्रतिशतमा रहे पनि यो नियामकीय सीमाको निकै नजिक छ ।
बैंकिङ प्रणालीमा खराब कर्जा बढ्नु भनेको बैंकको सम्पत्तिको गुणस्तर कमजोर हुनु हो । यस्तो कर्जा असुल नहुँदा बैंकले सम्भावित क्षति धान्न नाफाबाट प्रोभिजन छुट्याउनुपर्छ । प्रोभिजन बढ्दा नाफा घट्छ, नाफा घटेपछि बैंकको आन्तरिक पुँजी निर्माण कमजोर हुन्छ र अन्ततः पुँजी पर्याप्ततामा प्रत्यक्ष दबाब पर्छ। प्रभु बैंकमा अहिले देखिएको खराब कर्जा, नोक्सानी र टियर–१ पुँजीको अवस्था पनि यही चक्रसँग जोडिएको छ ।
त्यस्तै, पुँजी पर्याप्ततालाई बैंकको जोखिम धान्ने सुरक्षा कवच मानिन्छ । बैंकले दिएको कर्जामा जोखिम बढ्दै जाँदा पर्याप्त पुँजी नभए भविष्यको सम्भावित क्षति धान्ने क्षमता कमजोर हुन्छ । त्यसैले टियर–१ पुँजी नियामकीय न्यूनतम सीमाभन्दा तल झर्नुलाई सामान्य वित्तीय सूचकभन्दा गम्भीर विषयका रूपमा हेरिन्छ ।
बैंकको खुद तरल सम्पत्ति अनुपात ४३ प्रतिशत र कर्जा–निक्षेप अनुपात ६८ प्रतिशत छ । निक्षेपको हिस्सा ६२ प्रतिशत रहेकाले बैंकको निक्षेप लागत ३.३७ प्रतिशतमा कायम छ । यस अर्थमा प्रभु बैंकको तत्कालीन समस्या तरलताको अभावभन्दा बढी सम्पत्तिको गुणस्तर, पुँजी पर्याप्तता, कर्जा असुली र संस्थागत सुशासनसँग जोडिएको देखिन्छ । रेटिङ घट्नुले यही जोखिमलाई औपचारिक रूपमा थप उजागर गरिदिएको छ ।






