‘गोजीमा पैसा नहुनेले पनि उपचार पाउनुपर्छ, त्यो हो हाम्रो एजेन्डा ।’
यो प्रधानमन्त्री बालेन्द्र शाहले चुनावका बेला गर्धन सुक्ने गरी तराईका जनतालाई दिएको बचन हो । तर, बोलेजस्तै व्यवहार नहुँदा चुनावका बेला बालेन्द्रले दिएको यही अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा ट्रोल बनेको छ। साह चौतर्फी आलोचित भएका छन्।
कारण हो—सप्तरीको राजविराजमा एक गर्भवती महिलाले सरकारी अस्पतालबाट उपचार नपाएपछि अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपरेको घटना।
राजविराज नगरपालिका–१४ की बबिताकुमारी पासवान प्रसव व्यथासहित गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। तर, घटनापछि सार्वजनिक विवरणले सरकारको प्राथमिकतासँगै अस्पतालमा भएको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ।
पैसा नहुँदा बबिताले सडकमा बच्चा जन्माउनुपरेपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहको चुनावी आश्वासन युक्त भाषणको जवाफ माग्दै सरकारसँग प्रश्न गर्न थालिएको छ।
‘ सत्ता प्राप्तिका लागि गरिबको उपहास उँडाउँदै निशुल्क स्वास्थ उपचारको भासन गर्ने, तर व्यवहारमा पैसा अभावकै कारण सुत्केरीले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था किन? ’ भन्दै अभिनेत्री ऋचा शर्मादेखि विभिन्न राजनीतिकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तासम्मले प्रधानमन्त्री शाहको आलोचना गरेका छन्।
अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री शाहलाई चुनावको भाषणबारे अवगत गराउँदै प्रश्न उठाएकी छन्। उनले भाषणमा नभई सडकमा प्रमाण चाहिने भन्दै उनले प्रश्न सोधेकी छन्। ‘’गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ,त्यो हो हाम्रो एजेन्डा’ — प्रधानमन्त्री बालेन। तर आज रु. २,५०० नहुँदा एउटी आमाले अस्पतालबाहिर सडकमा बच्चा जन्माउनुपरेको छ। भाषणमा होइन, सडकमा प्रमाण चाहिन्छ। सरकार, गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ?’, शर्माले फेसबुकमा लेख्दै प्रश्न गरेकी छन्।

यस्तै कांग्रेस नेता अजयबाबु शिवाकोटीले बालेनको एजेण्डाले जितेको दिनभन्दै सुत्केरीले सडकपेटीमा बच्चा जन्माएको विषयमा व्यङ्ग्य गरेका छन्। बालेनको एजेण्डाले जितेको दिन। पैसा नहुँदा अस्पतालबाट निकालिएकी आमाले सडकमै बच्चा जन्माइन्। जय होस् ती आमा र बच्चाको’, शिवाकोटीले लेखेका छन्।

सुमी श्रेष्ठ नामक फेसबुक प्रयोगकर्ताले सडकपेटीमा बच्चा जन्माएको विषयलाई उठाउँदै यो भन्दा लज्जास्पद के होला र सरकार भन्दै प्रश्न गरेकी छन्। ‘‘गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ, त्यो हो हाम्रो एजेण्डा’ प्रधानमन्त्री बालेन। यो भन्दा लज्जास्पद के होला र सरकार? अब फेरि कसैले पैसाको अभावमा उपचारबाट बञ्चित हुन नपरोस्’, उनले लेखेकी छन्।

सुरेश साह नामक फेसबुक प्रयोगकर्ताले पनि प्रधानमन्त्री शाहको एजेण्डा कहाँ गयो भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन् ‘खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्यो। त्यो हाम्रो एजेण्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनुपर्यो। त्यो हाम्रो एजेण्डा। त्यो एजेण्डा कहाँ गयो? सरकार।’

राजु एक्सो लिम्बुले ज्वरो आउँदा उडाएको हेलिकप्टरलाई जोडेर प्रधानमन्त्री शाहमाथि प्रश्न उठाएका छन्। लिम्बुले लेखेका छन्, ‘गोजीमा पैसा नहुनले उपचार पाउनुपर्छ। त्यो हो हाम्रो एजेण्डा। साँच्चै त्यो मन्त्रीको ज्वरो आउँदा उडाएको हेलिकप्टर कहाँ छ?’ पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णालीमा भएको समयमा सामान्य ज्वरो आएको अवस्थामा पनि हेलिकप्टरबाट काठमाडौँ आएका थिए। त्यसलाई जोडेर उनले सरकारको आलोचना गरेका छन्।

राजविराजमा घटेको एउटा घटना देशभर फैलिएपछि सरकारले घटनाको छानबिन गर्न दुईवटा समिति गठन गरेको बताएको छ। ड्युटीमा रहेका कर्मचारीमाथि समेत छानबिन गर्ने प्रकृया अघि बढाइएको पनि छ।
तर, बालेन्द्रले चुनावमा गरेको ‘गरिबको पनि उपचार’को वाचा यतिका समयसम्म पनि केवल भाषणमै सीमित हुनु अत्यन्तै दुखद कुरा हो।
त्यसो त छानबिनले घटनाको वास्तविकता बाहिर त ल्याउला, पिडित महिलाले थप उपचार तथा हेरचाह पनि पाउलिन् । तर, एउटा आमाले सडकमा बच्चा जन्माउनुपरेको यो पीडादायी एवं अति संवेदनशील घटनाले सरकारको स्वास्थ्य सेवा र गरिबप्रति गरिने प्रसासनिक व्यवहार माथि भने गम्भीर प्रश्न खडा गरिसकेको छ।






