ग्यासमा बढी मूल्य लिनेलाई कारबाही गर्न विक्रेता महासंघको माग

काठमाडौं । विपद्को समयमा खाना पकाउने ग्यासमा तोकिएको मूल्यभन्दा बढी रकम असुली बिक्री गर्ने व्यवसायीमाथि कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ ।

महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर ग्यासलगायत अत्यावश्यक उपभोग्य वस्तुमा अनुचित मूल्य असुल्ने व्यवसायीलाई कारबाही गर्न माग गरेको हो ।

महासंघका अनुसार लामो समयदेखि मुलुकमा ग्यासको अभाव कायम रहँदै आएको अवस्थामा भोटेकोशीमा आएको भीषण बाढीले आपूर्ति व्यवस्थामा थप समस्या निम्त्याएको छ । बाढीका कारण कृष्णभीरको सडक कटानमा परी राजधानी जोड्ने राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको महासंघले जनाएको छ ।

यस्तो कठिन परिस्थितिको फाइदा उठाउँदै उपभोक्ताबाट ग्यास तथा अन्य अत्यावश्यक वस्तुमा अनुचित मूल्य असुल्नु दण्डनीय कार्य भएको महासंघले जनाएको छ । उसले तोकिएको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गर्ने जोकोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

महासंघले देशभरका ग्यास विक्रेतालाई वास्तविक समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्नसमेत अपिल गरेको छ । विपद्का बेला अत्यावश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्नु सरकार, ग्यास उद्योगी र विक्रेताको साझा दायित्व भएको महासंघको भनाइ छ ।

आपूर्ति प्रणालीलाई यथाशीघ्र नियमित बनाउन सबै पक्षले आवश्यक पहल गर्नुपर्ने भन्दै महासंघले विषम परिस्थितिमा उपभोक्तालाई राहत पुग्ने गरी जिम्मेवार ढंगले व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *