अर्थमन्त्रीको आश्वासनपछि २७ अंक बढ्यो सेयर बजार, सबै सूचकमा हरियाली

काठमाडौं । लगातार दुई कारोबार दिन घटेको सेयर बजारमा शुक्रबार सुधार देखिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजार सुधारका लागि सोमबारसम्म कार्ययोजना सार्वजनिक गर्ने घोषणा गरेपछि बजार २७ दशमलव ९४ अंकले बढेको हो ।

शुक्रबार नेप्से परिसूचक १ दशमलव १० प्रतिशतले बढेर २ हजार ५ सय ५९ अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत सुधार आएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ९९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले सोमबारसम्म सेयर बजार सुधारका लागि कार्यक्रम सार्वजनिक गर्ने बताएका थिए । उनको उक्त अभिव्यक्तिपछि बजारमा सकारात्मक प्रभाव परेको देखिएको हो ।

आज कारोबारमा आएका कम्पनीमध्ये २ सय ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । बजारका सबै समूहगत सूचक उकालो लागेका छन् ।

बैंकिङ समूह शून्य दशमलव ७८ प्रतिशत, विकास बैंक १ दशमलव ५ प्रतिशत, फाइनान्स शून्य दशमलव ४६ प्रतिशत, होटल तथा पर्यटन शून्य दशमलव ९६ प्रतिशत, जलविद्युत् १ दशमलव ८३ प्रतिशत र लगानी समूह १ दशमलव ५८ प्रतिशतले बढेको छ ।

त्यस्तै जीवन बीमा शून्य दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७ प्रतिशत, लघुवित्त शून्य दशमलव ८९ प्रतिशत, निर्जीवन बीमा १ दशमलव ७२ प्रतिशत, अन्य समूह शून्य दशमलव ४२ प्रतिशत तथा व्यापार समूह १ दशमलव ४ प्रतिशतले बढेको छ ।

शुक्रबार उपकार लघुवित्तको सेयर मूल्य १० दशमलव ५३ प्रतिशत, अभियान लघुवित्तको १० दशमलव ९ प्रतिशत, सिन्धु विकास बैंकको ९ दशमलव ५४ प्रतिशत, सर्वोत्तम पेन्ट्सको ८ दशमलव ४ प्रतिशत र राप्ती हाइड्रोको ६ दशमलव १८ प्रतिशतले बढेको छ ।

यस्तै मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ५ दशमलव ७१ प्रतिशत, इमर्जिङ नेपालको ४ दशमलव २१ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको ४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र शिवश्री हाइड्रोपावर अगाडि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *