गुप्तचरकै अनुसन्धान अधिकृत हनिट्रयापमा: आरोपी महिला कारागार चलान

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा पक्राउ परेकी ३२ वर्षीया कुसुम गुभाजुलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

रामेछाप घर भई काठमाडौँमा बस्दै आएकी गुभाजुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।

प्रहरीको अनुसन्धान निष्कर्षअनुसार गुभाजुले करिब चार वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएकी राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतसँग निकट सम्बन्ध बनाएर हनिट्रयापमा पारेकी थिइन्। ती अधिकृतले गुभाजुले २०८३ जेठमा पटक–पटक गरी आफूसँग २७ लाख रुपैयाँ नगद लिएको भन्दै जाहेरी दिएका थिए।

यता, गुभाजुले प्रहरीसमक्ष दिएको बयानमा रकम लिएको स्वीकार गरे पनि आफूले धम्क्याएर वा दबाब दिएर रकम नलिएको दाबी गरेकी छन्। उनका अनुसार २० लाख रुपैयाँ ती अधिकृतले ‘खुसीले’ दिएको र बाँकी सात लाख रुपैयाँ कोठा भाडा तथा रासनका लागि दिइएको हो। ती रकमबाट खरिद गरिएका सामग्री आफूले मात्र नभई सम्बन्धित अधिकृतले समेत प्रयोग गरेको उनको जिकिर छ।

गुभाजुले सामाजिक सञ्जालमार्फत चिनजान भएपछि सम्बन्ध नजिकिँदै गएको र केही समय आफूहरू कपन तथा वसुन्धराका डेरामा सँगै बसेकोसमेत प्रहरी बयानमा बताएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले गुभाजुविरुद्ध आपराधिक लाभ तथा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गरी सरकारी वकिलमार्फत अदालतमा प्रतिवेदन पेस गरेको थियो।

गुल्मीको मुसिकोट नगरपालिका–३ घर भएकी गुभाजुले रामेछापमा विवाह गरेकी थिइन्। अदालतको आदेशपछि उनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *