काठमाडौँ । सिभिल सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पूर्वसांसद एवं उद्यमी इच्छाराज तामाङसहित १७ जना दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले दोषी ठहर भएका उनीहरूलाई कसूरको गम्भीरताका आधारमा कैद, जरिवाना तथा बिगो भराउने फैसला गरेको हो।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले मुख्य प्रतिवादी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।
अदालतले जाहेरवालाहरूको कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ३९ रुपैयाँ ८२ पैसा प्रतिवादीहरूबाट दामाशाही हिसाबले जाहेरवाला बचतकर्ताहरूलाई भराइदिनसमेत आदेश दिएको छ।
दोषी ठहर भएका प्रवीणप्रसाद प्रधान र केशवलाल श्रेष्ठलाई जनही ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।
त्यस्तै रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर (कंसाकार), सिर्जना शाक्य (तामाङ) र लालकाजी गुरुङलाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।
अदालतले दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद तथा ५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
त्यस्तै मीना गुरुङलाई ५ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ।
अदालतको फैसलासँगै सिभिल सहकारीका बचतकर्ताबाट उठाइएको रकममध्ये जाहेरवालाहरूको दाबीअनुसारको ५ अर्ब ६७ करोडभन्दा बढी बिगो प्रतिवादीहरूबाट असुल गरी बचतकर्तालाई फिर्ता गराउने बाटो खुलेको छ।




