रसुवा बाढीमा मृतकको संख्या १,३७७ पुग्यो, ५,१३० जना अझै बेपत्ता

काठमाडौँ। रसुवा बाढीका कारण हालसम्म १ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ भने ५ हजार १ सय ३० जना अझै बेपत्ता रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी दिएको हो।

प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३ सय ६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २ सय २८, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९८, रसुवामा १ सय ७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाडौँमा दुई जनाको पनि मृत्यु भएको छ।

बेपत्ता हुनेमा रसुवा र नुवाकोट क्षेत्रका नागरिकको संख्या धेरै रहेको प्राधिकरणले जनाएको छ। हालसम्म १ सय ४ वटा शवको सनाखत भइसकेको छ।

विपद्पछि विभिन्न १९ अस्पतालमा ३ सय ३३ जनाको उपचार भइरहेको छ भने २ सय ५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धारतर्फ हालसम्म १३ हजार ६ सय ५६ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएका नागरिकका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती सेन्टरमा नुवाकोटका २ हजार ६ सय १५, रसुवाका ७ सय ७५ र धादिङका २ सय ९५ जना आश्रित रहेका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेनाका १ हजार ३ सय ४८ र सशस्त्र प्रहरी बलका २ सय ७२ वटा हवाई उडानमार्फत उद्धार तथा राहत सामग्री पुर्‍याइएको छ। स्वास्थ्य उपचारतर्फ नेपाली सेनाले ३ हजार ५ सय ५९ र सशस्त्र प्रहरीले ३ हजार ६ सय ६ जनालाई सेवा प्रदान गरेका छन्।

खोज, उद्धार तथा सुरक्षाका लागि कुल २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८ हजार ८ सय ८५, नेपाल प्रहरीका ७ हजार ९ सय ७५ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन्।

सरकारले रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *