काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन्।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आधिकारिक रूपमा सदस्यको पहिचान नगरी नामावलीका आधारमा मात्रै विशेष महाधिवेशन बोलाउन नमिल्ने बताएका हुन्। पार्टी सभापतिलाई जानकारी नै नदिई विशेष महाधिवेशन आह्वान गर्न नसकिने उनको भनाइ छ।
पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै देउवाले विगतमा सुवर्णशमशेर सभापति रहेका बेला पनि विशेष महाधिवेशन भएको स्मरण गरे। त्यतिबेला पार्टी एकताबद्ध रहेको र सदस्य तथा प्रतिनिधिको खुला रूपमा पहिचान गरेर महाधिवेशन गरिएको उनले बताए।
गगन थापाले विशेष महाधिवेशन बोलाउने विषय अघि सारेपछि आफूले पनि पार्टीलाई विशेष महाधिवेशन बोलाउने अधिकार रहेको तर त्यसअघि वास्तविक सदस्य को हुन् भन्ने सनाखत आवश्यक रहेको बताएको देउवाले स्मरण गरे।
आफू सभापति रहेका बेला विशेष महाधिवेशन बोलाउने विधिबारे आफूलाई जानकारी नभएको र गगन थापालाई मात्रै त्यसको जानकारी भएजस्तो गरी प्रक्रिया अघि बढाइएको भन्दै देउवाले असन्तुष्टि जनाए।
‘पहिले सनाखत गराउनुपर्यो। त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्तीबाट हालेको नामावलीले विशेष महाधिवेशन बोलाउन पाइन्छ ? ज्यानको खतरा त्यस्तो त्रास कसले फैलाएको छ ? विश्लेषण गरिनुपर्यो नि,’ देउवाले भने।
कांग्रेससँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट आफूले न्याय पाउने विश्वास रहेको देउवाले बताए। सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै उनले त्यसपछि कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको दाबी गरे।
पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा समेत आफूहरूले मुद्दा जितेको र राजा ज्ञानेन्द्रको शासनकालमा जेल पर्ने अवस्थामा पनि अदालतबाट न्याय पाएको देउवाले स्मरण गरे।
अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्च अदालतले निष्पक्ष न्याय दिनेमा आफू विश्वस्त रहेको उनले बताए। अन्ततः नेपाली कांग्रेसले रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत देउवाले व्यक्त गरे।
‘सर्वोच्च अदालतप्रति मेरो विश्वास छ। सर्वोच्च अदालतले न्याय दिनेछ भन्ने विश्वास छ। रुख चिन्ह र चार तारा झण्डा नेपाली कांग्रेसले पाउनेछ भन्ने विश्वास छ,’ देउवाले भने।





