काठमाडौं । ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पृथ्वीबहादुर पाण्डेलाई ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशपछि पाण्डेले सोमबार नै धरौटी रकम बुझाएर रिहा भएका छन्।
जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले नेपाल सरकार वादी र पाण्डे प्रतिवादी रहेको मुद्दामा उक्त आदेश गरेको हो।
पाण्डेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अभियोग दायर गरिएको थियो। अभियोगमा ठगी भएको बिगो जाहेरवालालाई भराइदिनसमेत मागदाबी गरिएको छ।
मुद्दाको सुनुवाइका क्रममा पाण्डेले आफू आबद्ध नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लिनुपर्ने रकम असुल गर्न स्मार्ट टेलिकमका सामान लिलाम गरिएको दाबी गरेका छन्।
अदालतले जाहेरी, खानतलासी तथा बरामदी मुचुल्का, स्मार्ट टेलिकमसँग सम्बन्धित सामान र रकम असुलीको विवरणलगायतका कागजात अध्ययन गरेको जनाएको छ।
घटनासँग सम्बन्धित कागजात तथा प्रतिवादीहरूको बयानसमेत अध्ययन गरेपछि तत्काल प्राप्त प्रमाणका आधारमा पाण्डेलाई धरौटीमा राख्नुपर्ने अवस्था देखिएको अदालतको आदेशमा उल्लेख छ।





