सेनाको आपत्तिपछि उद्धारस्थलबाट फर्किएका थिए गृहमन्त्री

काठमाडौं।  विपद्को समयमा उद्धार तथा राहत कार्यको प्रभावकारी समन्वय र निर्देशन गर्नुपर्ने जिम्मेवारीमा रहेका गृहमन्त्री सुधन गुरुङ आफैँ उद्धारस्थलमा पुगेर प्रत्यक्ष काममा खटिएपछि उनको भूमिकामाथि प्रश्न उठेको छ। उच्च पदमा रहेका मन्त्रीले कमान्ड, समन्वय र निर्देशनमा केन्द्रित हुनुपर्नेमा उद्धारस्थलमै पुगेर ‘स्टन्ट’ गरेपछि उनको चौतर्फी आलोचना भइरहेको छ।

भदौ १० गते आएको बाढीपछि खोज तथा उद्धारस्थलमा पुगेका गृहमन्त्री गुरुङ भदौ १२ गते माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि भन्दै पुनः फिल्डमा पुगेका थिए। त्यस क्रममा उनी उद्धार कार्यमा आफैँ संलग्न भएको तस्वीरसमेत सार्वजनिक भएको थियो।

तर, मन्त्रीको उपस्थितिले सहजता ल्याउनुको सट्टा असहजता सिर्जना गरेपछि उद्धार कार्य नै प्रभावित बनेको थियो । उच्च सैनिक स्रोतका अनुसार, गृहमन्त्री फिल्डमै रहँदा उच्च पदस्थ व्यक्तिको सुरक्षालगायतका कारण पनि उद्धारमा खटिएका जनशक्तिको ध्यानसमेत प्रभावित हुने अवस्था देखिएपछि उनलाई घटनास्थलबाट फर्किन अनुरोध गरिएको थियो। सेनाको आग्रहपछि गुरुङ फिल्डबाट फर्किएर विदुरस्थित मैथली ब्यारेक पुगेका थिए। त्यसपछि मात्र उनी काठमाडौं फर्किएका हुन्।

विपद् व्यवस्थापनको नेतृत्व गर्ने निकायका प्रमुखका रूपमा गृहमन्त्रीको प्राथमिक जिम्मेवारी उद्धारमा खटिएका निकायबीच प्रभावकारी समन्वय गर्ने, आवश्यक स्रोतसाधन तत्काल उपलब्ध गराउने र उद्धार टोलीलाई स्पष्ट निर्देशन दिने हो। तर, उनी आफैँ उद्धारस्थलमा पुगेर प्रत्यक्ष काममा संलग्न हुँदा ‘मन्त्रीले काम गरेको देखाउने कि उद्धार संयन्त्रलाई प्रभावकारी बनाउने?’ भन्ने बिषयमा आज सदनमा समेत कुरा उठाईएको छ।

उनीमाथि  सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेर लोकप्रिय बन्न ‘स्टन्ट’ गरेको आरोप लगाइएको छ।  विपद्जस्तो संवेदनशील अवस्थामा र उद्धारको कठिन घडीमा नेतृत्वको मूल्याङ्कन फोटो खिचेर फिल्डमा देखिनुभन्दा कति जनाको उद्धार भयो, कति स्रोत परिचालन भयो र उद्धार संयन्त्र कति प्रभावकारी बन्यो भन्ने आधारमा हुनुपर्ने सांसदहरुको सुझाब छ।

माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा ३५ जना फसेको बताइए पनि अहिलेसम्म कसैको उद्धार हुन सकेको छैन। अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ।

यहीबीच प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार संसदमा सुरुङभित्र लेदो भरिएको अवस्थामा उद्धार गर्ने विज्ञता र क्षमता विश्वका कुनै पनि देशसँग नभएको बताए । तर, उद्धारको प्रगति अत्यन्त न्यून रहेको अवस्थामा सरकारको विपद् व्यवस्थापन क्षमता, पूर्वतयारी र नेतृत्वको प्रभावकारितामाथि समेत आजको सदनमा गम्भीर प्रश्न उठ्न उठाईएका छन्।

विपद्को समयमा नेतृत्वको काम उद्धार संयन्त्रलाई प्रभावकारी बनाउने हुन्छ तर,  गृहमन्त्री गुरुङ फिल्डमै उपस्थित भएपछि उद्धार तथा राहत कार्यको मुख्य जिम्मेवारी पाएको सेनाले नै असहजता जनाएर फर्किन आग्रह गरेको घटनाले सार्वजनिक बहस निम्त्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *