रविसँग बागमतीका मुख्यमन्त्रीले भने– सरकारले हामीसँग समन्वय नै गरेन

काठमाडौँ । बागमती प्रदेशका मुख्य किरण थापामगरले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतमा सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय नै नगरेको गुनासो गरेका छन् ।

आज रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको पनि बताए ।

उनले प्रधामन्त्री प्रभावित क्षेत्रमा जाँदा समेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै दुःख व्यक्त गरे । रविसँग मुख्यमन्त्रीले भने– ‘तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक छ ।’

उनले प्रभावितका लागि पठाइएको राहत सामग्री नुवाकोटको बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको पनि बताए ।

जवाफमा रास्वपा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्ने भन्दै भने– यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्नेकुरामा हामी सचेत छौँ ।’

लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *