भोटेकोशी बाढीपीडितका लागि चौधरी ग्रुपको १५ करोडभन्दा बढी सहयोग, पहिलो चरणमा ५०० अस्थायी घर

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि चौधरी ग्रुपले १५ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा गरेको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन खाद्यान्न तथा औषधि वितरण, राहत शिविर सञ्चालन र अस्थायी आवास निर्माण गर्ने जानकारी दिएका हुन्।

फाउन्डेसनका अनुसार पहिलो चरणमा ५०० वटा संक्रमणकालीन आवास निर्माण गरिनेछ। बाढीका कारण घरबार गुमाएका तथा तत्काल सुरक्षित आश्रय आवश्यक भएका परिवारलाई लक्षित गरी ती आवास निर्माण गर्न लागिएको हो।

घोषित सहयोगअन्तर्गत प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिनेछ। त्यसैगरी राहत शिविर निर्माण तथा सञ्चालनसँगै घरविहीन परिवारका लागि अस्थायी आवासको व्यवस्था गरिने फाउन्डेसनले जनाएको छ।

स्थायी पुनर्निर्माणमा समय लाग्ने भएकाले संक्रमणकालीन आवासमार्फत विस्थापित परिवारलाई तत्काल सुरक्षित बास उपलब्ध गराउने उद्देश्य रहेको फाउन्डेसनको भनाइ छ। यसले राहत शिविरमा लामो समयसम्म निर्भर रहनुपर्ने अवस्था पनि कम गर्ने अपेक्षा गरिएको छ।

चौधरी फाउन्डेसनले राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई तत्कालीन मानवीय सहयोगमा मात्र सीमित नराखी प्रभावित परिवारलाई क्रमशः सुरक्षित आवास र पुनर्स्थापनातर्फ लैजाने जनाएको छ।

१५ करोड रुपैयाँभन्दा बढीको सहयोग खाद्यान्न तथा चिकित्सा राहत, राहत शिविर सञ्चालन र संक्रमणकालीन आवास निर्माणलगायतका क्षेत्रमा परिचालन गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *