रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका ९३४ जना अझै सम्पर्कविहीन (सूचीसहित)

काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कामदार तथा कर्मचारी अझै सम्पर्कविहीन छन्।

बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अनुसार तीमध्ये ११ वटा आयोजनाका कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका हुन्।

इप्पानको तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी रसुवा जिल्लाका जलविद्युत् आयोजना प्रभावित भएका छन्। जिल्लाका ६ वटा आयोजनामा कार्यरत ७३० जना सम्पर्कविहीन छन्।

निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा मात्रै ५७६ जनाको अवस्था अज्ञात रहेको छ।

त्यसैगरी, सञ्चालनमा रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोलाका ४२ जना, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाका ८ जना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाका ७ जना सम्पर्कविहीन भएका छन्।

यस्तै, निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाका ४ जना पनि सम्पर्कबाहिर रहेका छन्।

नुवाकोट जिल्लाका प्रमुख जलविद्युत् आयोजनामा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। जिल्लाका ५ वटा आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन रहेका छन्।

सबैभन्दा बढी निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी आयोजनाका १५८ जना सम्पर्कविहीन छन्।

त्यस्तै, सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनाका ४२ जना, निर्माणाधीन मिडल त्रिशूली गंगाका २ जना तथा त्रिशूली जलविद्युत् आयोजना र देवीघाट जलविद्युत् आयोजनाका एक–एक जना सम्पर्कमा आउन सकेका छैनन्।

सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। हालसम्म माथिल्लो त्रिशूली–१ आयोजनामा रहेका २५४ जनाको सकुशल उद्धार गरिएको जनाइएको छ।

बाढीका कारण सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले लाङटाङ, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए र चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरूको तत्काल उद्धारका लागि स्थलमार्ग अवरुद्ध भएकाले तत्काल हेलिकप्टर परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ।

Total-project-of-badi-project-Rasuwa-badi-mission-person_page-0001Total-project-of-badi-project-Rasuwa-badi-mission-person_page-0002

Leave a Reply

Your email address will not be published. Required fields are marked *