शेयर बजार सुधारका लागि धितोपत्र बोर्डले नेप्सेलाई दियो १९ बुँदे निर्देशन (सर्कुलरसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई १९ बुँदे निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले कारोबार प्रणाली, लगानीकर्ता सुरक्षा, प्रविधिको प्रयोग, बजार सूचकांक, सूचना प्रवाह तथा लगानीकर्ता शिक्षालगायतका विषयमा सुधार गर्न निर्देशन दिएको हो।

बोर्डले विशेषगरी पछिल्लो समय लगानीकर्ताले भोग्दै आएका प्राविधिक समस्यालाई प्राथमिकतामा राखेको छ। त्यसका लागि हाल सञ्चालनमा रहेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को अनिवार्य सूचना प्रविधि तथा सुरक्षा परीक्षण गराई त्यसको प्रतिवेदन बोर्डमा पेश गर्न नेप्सेलाई भनिएको छ। कारोबार प्रणालीमा देखिएका समस्या पहिचान गरी प्रणालीलाई थप सुरक्षित, भरपर्दो र प्रभावकारी बनाउनसमेत निर्देशन दिइएको छ।

शेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग बढ्दै गएपछि बोर्डले यससम्बन्धी छुट्टै अध्ययन गर्ने भएको छ। अन्तर्राष्ट्रिय अभ्यास, सम्भावित जोखिम र नेपालको आवश्यकता अध्ययन गरी प्रतिवेदन तयार गर्न भनिएको छ। आवश्यक कानुनी व्यवस्था तथा अध्ययन पूरा नभएसम्म टीएमएसमार्फत एआईमा आधारित प्रविधि प्रयोग गरी कारोबार आदेश प्रविष्ट गर्न रोक लगाइएको छ।

लगानीकर्ताको सुविधालाई ध्यानमा राख्दै मोबाइल एपमार्फत दोस्रो बजारमा शेयर कारोबार गर्न सकिने व्यवस्था मिलाउन पनि नेप्सेलाई निर्देशन दिइएको छ। साथै, आफ्टर मार्केट अर्डर (एएमओ) प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा टीएमएस खाता खोल्दा सी–केवाइसी प्रणालीबाट आवश्यक विवरण प्राप्त हुने गरी प्रणाली एकीकरण गर्न भनिएको छ।

बोर्डले बजार सूचकांकमा समेत सुधार गर्ने तयारी गरेको छ। नेप्से सूचकांकलाई अल इक्विटी इन्डेक्सका रूपमा कायम राख्दै फ्री फ्लोट शेयरका आधारमा नयाँ बेन्चमार्क सूचकांक विकास गर्ने प्रक्रिया अघि बढाइने भएको छ। नेप्से ३० तथा हाई क्यापजस्ता थप विविध सूचकांक निर्माणका लागि सम्बन्धित संस्थासँग सहकार्य गर्नसमेत निर्देशन दिइएको छ।

यसैगरी, हाल कायम सर्किट ब्रेकरको व्यवस्थासमेत पुनरावलोकन गरिने भएको छ। कारोबारको अन्तिम १५ मिनेटले बजार सूचकांकमा पार्ने प्रभाव तथा दैनिक १५ प्रतिशतको सर्किट ब्रेकर आवश्यक रहे–नरहेको विषयमा अध्ययन गरी एक महिनाभित्र सुझाव पेश गर्न नेप्सेलाई भनिएको छ।

सूचीकृत कम्पनीको वर्गीकरणलाई पनि थप व्यवस्थित बनाइने भएको छ। कम्पनीको वित्तीय अवस्था, शेयरको तरलता, संस्थागत सुशासनलगायतका आधारमा वर्गीकरण गर्ने व्यवस्था विकास गरिने बोर्डले जनाएको छ। नयाँ कम्पनीको शेयर सूचीकृत भएपछि पहिलो कारोबारका लागि मूल्य निर्धारण गर्ने विधिलाई समेत वैज्ञानिक तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुधार गर्ने प्रक्रिया अघि बढाइने भएको छ।

लामो समयदेखि शेयर कारोबार नभएका सूचीकृत कम्पनीको अवस्थाबारे अध्ययन गरी आवश्यक कानुनी सुधारका लागि सुझाव पेश गर्न पनि नेप्सेलाई निर्देशन दिइएको छ। साथै, सूचीकृत कम्पनीले सार्वजनिक गर्ने आधिकारिक सूचना एकै स्थानबाट प्राप्त गर्न सकिने गरी छुट्टै सूचना पोर्टल विकास गर्ने योजना अघि सारिएको छ।

बोर्डले लगानीकर्ता शिक्षा तथा वित्तीय साक्षरतामा पनि जोड दिएको छ। कम्तीमा महिनामा एकपटक वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ। विशेषगरी नयाँ तथा साना लगानीकर्तालाई शेयर बजारको जोखिम, लगानी प्रक्रिया र कारोबारसम्बन्धी आधारभूत जानकारी उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।

त्यस्तै, शेयर बिक्री गरेपछि लगानीकर्ताले निर्धारित टी+२ अर्थात् दुई कार्यदिनभित्र रकम प्राप्त गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बोर्डले निर्देशन दिएको छ। कारोबार सम्पन्न भएपछि रकम प्राप्त गर्न लगानीकर्ताले अनावश्यक ढिलाइ भोग्न नपरोस् भन्ने उद्देश्यले उक्त व्यवस्थामा कडाइ गरिएको बोर्डले जनाएको छ।

बोर्डका यी निर्देशन कार्यान्वयन भएमा नेपालको पूँजी बजारको कारोबार प्रणाली थप सुरक्षित र प्रविधिमैत्री बन्नुका साथै लगानीकर्ताको पहुँच, सूचना प्रवाह र बजारप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *