१८औँ नाडा अटो शो आजदेखि, २१५ भन्दा बढी स्टलमा ५३ ब्रान्डका सवारीसाधन देख्न पाईने

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज मंगलबारदेखि ‘१८औँ नाडा अटो शो २०२६’ सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीमा २१५ भन्दा बढी स्टल निर्माण गरिएको छ। आज मंगलबार बिहान साढे १० बजेदेखि सुरु हुने प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यस वर्ष विगतका तुलनामा प्रदर्शनीका स्टलहरू थप फराकिलो र व्यवस्थित बनाइएको छ। प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती, एसी तथा पंखाको व्यवस्था गरिएको छ।

प्रदर्शनीस्थललाई चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल–मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।

नाडा अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारी एउटै प्रदर्शनीबाट लिन सक्ने गरी क्षेत्र व्यवस्थापन गरिएको नाडाले जनाएको छ। यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, वित्तीय सुविधा, बीमा, सर्भिस तथा पार्ट्ससम्बन्धी जानकारी तुलना गर्न सहज हुने अपेक्षा गरिएको छ।

नाडाका अनुसार यस वर्षको अटो शोमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ।

अवलोकनकर्ताको सुविधाका लागि नाडाले अग्रिम टिकट बुकिङको व्यवस्था पनि गरेको छ। खल्तीको एप तथा आधिकारिक क्यूआर कोडमार्फत अग्रिम टिकट काट्न सकिनेछ। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ।

अवलोकनकर्ताका सवारीसाधनका लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवासमेत उपलब्ध हुने नाडाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *