काठमाडौँ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको एलिट एक्स्पेडले पुष्टि गरेको छ ।
शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले ‘गहिरो दुःख र अपार पीडाका साथ ब्रड पिकमा गएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौं’ भनेको छ । साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ।
एलिट एक्स्पेडले निम्सदाइसँगै दुर्घटनामा ज्यान गुमाउने उनका विश्वासिला आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ । कम्पनीले मृतकका परिवार, आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
वक्तव्यमा निम्सदाइलाई ‘विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान् आरोहीहरूमध्ये एकलाई गुमाएको’ उल्लेख गर्दै उनको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ ।
‘उनका असाधारण उपलब्धिभन्दा पनि ठूलो कुरा, उनले मानिसलाई ठूला सपना देख्न, आफ्नै क्षमतामाथि विश्वास गर्न र सीमिततालाई अस्वीकार गर्न सिकाए,’ कम्पनीले भनेको छ, ‘उनका कार्यहरूले लाखौं मानिसलाई आफूले सोचेभन्दा धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएका छन् ।’
कम्पनीका अनुसार निम्सदाइको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको अवस्थामा पुर्याएको हो । उनका कारण प्रेरित भएका असंख्य मानिसहरूमार्फत उनको विरासत सदैव जीवित रहने कम्पनीको विश्वास छ ।
एलिट एक्स्पेडले खोज तथा उद्धारमा संलग्न सबै उद्धारकर्मी र अत्यन्त कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ ।
साथै, मृतकका परिवारप्रति सम्मान जनाउँदै सम्बन्धित निकायले पुष्टि गरेका विवरणबाहेक थप कुनै सार्वजनिक टिप्पणी नगर्ने कम्पनीले जनाएको छ ।
वक्तव्यमा भनिएको छ, ‘निम्स र यस दुर्घटनामा ज्यान गुमाउने सबैलाई हामी कहिल्यै बिर्सने छैनौं । उहाँहरूको आत्मा, उद्देश्य र विरासतले आउने पुस्तासम्म प्रेरणा दिइरहनेछ ।’




