विराटनगर । उद्योगी–व्यवसायीले उत्पादन, रोजगारी र लगानी विस्तारका लागि सरकारले निजी क्षेत्रमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै सांसदसँग नीतिगत सहजीकरणको माग गरेका छन्।
उद्योग संगठन मोरङले सत्तारुढ दलका सांसद मनिष झासँग गरेको छलफलमा निजी क्षेत्रका समस्या समाधान गर्दै आर्थिक गतिविधि विस्तारका लागि सरकारको ध्यानाकर्षण गराइएको हो।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका समस्या उद्योगी–व्यवसायीमा मात्र सीमित नभई उत्पादन, रोजगारी, राजस्व र समग्र आर्थिक वृद्धिसँग जोडिएको बताए। उनले उद्योग–व्यवसाय क्षेत्रले उठाएका विषय सम्बन्धित मन्त्रालय तथा सरकारी निकायसम्म प्रभावकारी रूपमा पुर्याएर समाधानका लागि पहल गर्न सांसद झासँग आग्रह गरे।
राठीले नीतिगत स्थिरता, पूर्वानुमानयोग्य कानुनी व्यवस्था र लगानीमैत्री वातावरणको अभावले निजी क्षेत्रको मनोबल कमजोर बनाउने भएकाले स्पष्ट र स्थिर आर्थिक नीति आवश्यक रहेको बताए।
सांसद झाले उद्योग तथा व्यवसाय क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उद्योगी–व्यवसायीका समस्या गम्भीरतापूर्वक लिएको बताए। उनले निजी क्षेत्रले उठाएका विषय सम्बन्धित सरकारी निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनमूलक उद्योगको सम्भावनालाई व्यवहारमा उतार्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
छलफलमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणलाई आर्थिक विकासको आधारका रूपमा प्राथमिकता दिनुपर्ने बताए। कृषि उत्पादनको लागत घटाउने, प्रविधिको प्रयोग बढाउने, सिँचाइ तथा भण्डारण पूर्वाधार विस्तार गर्ने र कृषि उत्पादनलाई उद्योग तथा बजारसँग जोड्ने नीति आवश्यक रहेको उनले बताए।
छलफलमा सहभागी उद्योगी–व्यवसायीले बैंकिङ प्रणालीमा रहेको तरलता उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने वातावरण बनाउनुपर्ने माग गरे। उनीहरूले बजार विस्तार, कर तथा राजस्व नीतिमा स्थिरता, विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तथा सडक र ढुवानी पूर्वाधार सुधार गर्न सरकारसँग आग्रह गरे।
उद्योगी–व्यवसायीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको लगानी र उत्पादन बढ्ने वातावरण निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि सरकारबाट नीतिगत स्थिरता र प्रभावकारी सहजीकरणको अपेक्षा व्यक्त गरेका छन्।




