जीवन बीमा कम्पनीको नाफा घट्यो, कुन इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो ?

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका प्रमुख १२ जीवन बीमा कम्पनीहरूको खुद नाफामा सामान्य गिरावट आएको छ। सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा समग्र नाफा २.४३ प्रतिशतले घटेको छ।

अघिल्लो आर्थिक वर्ष (२०८१/८२) को चौथो त्रैमासमा यी कम्पनीहरूले कुल ५ अर्ब २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा उक्त नाफा घटेर ५ अर्ब ८ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ।

रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा आइएमई लाइफ इन्स्योरेन्स पहिलो स्थानमा देखिएको छ। कम्पनीले यस अवधिमा ५८ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.१६ प्रतिशतले बढी हो।

त्यसैगरी, ५८ करोड २६ लाख रुपैयाँ खुद नाफासहित रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा छ भने ४६ करो५४ लाख रुपैयाँ नाफा कमाएको नेपाल लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा छ। यद्यपि, नेपाल लाइफको नाफा अघिल्लो वर्षको तुलनामा १५.०२ प्रतिशतले घटेको हो।

प्रतिशत वृद्धिदरका आधारमा हेर्दा सिटिजन लाइफ इन्स्योरेन्सले उत्कृष्ट प्रदर्शन गरेको छ। कम्पनीको खुद नाफा अघिल्लो वर्षको १८ करोड ९१ लाख रुपैयाँबाट १०६.६३ प्रतिशतले बढेर ३९ करोड ८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको नाफा पनि २८.४५ प्रतिशतले वृद्धि भएको छ।

यस अवधिमा केही ठुला कम्पनीहरूको नाफामा उच्च गिरावट आएको छ। सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४१.९० प्रतिशतले घटेर ३१ करोड ७७ लाख रुपैयाँमा खुम्चिएको छ। त्यस्तै, सन नेपाल लाइफको २२.८४ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सको नाफा १०.२३ प्रतिशतले घटेको तथ्याङ्कमा देखिन्छ।

नाफा घटेसँगै कम्पनीहरूको औसत प्रतिसेयर आम्दानीमा पनि सामान्य असर परेको छ। औसत ईपीएस ७.७४ बाट घटेर ७.६० मा झरेको छ। प्रतिशेयर आम्दानीमा आइएमई लाइफ नै अगाडि छ। कम्पनीको ईपीएस ११.६८ रुपैयाँ रहेको छ।

दोस्रोमा रिलायबल नेपाल लाइफको ११.२१ रुपैयाँ छ। नाफामा उच्च वृद्धि गरेको सिटिजन लाइफको ईपीएसमा सुधार आउँदै ७.८२ पुगेको छ। हिमालयन लाइफको ईपीएस सबैभन्दा कम ३.४८ रुपैयाँमा सीमित छ।

life insurance (2)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *