काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता आएको छ।
उद्योग विभागका अनुसार साउनमा कुल १९१ वटा उद्योगका लागि उक्त लगानी स्वीकृत भएको हो। लगानी रकमका आधारमा पर्यटन क्षेत्र सबैभन्दा अगाडि रहेको छ। पर्यटन क्षेत्रमा १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ अर्थात् कुल प्रतिबद्धताको ४३ प्रतिशत लगानी आएको विभागले जनाएको छ।
त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ८४ करोड ३२ लाख रुपैयाँ, सेवा क्षेत्रमा ६८ करोड २० लाख रुपैयाँ र सूचना प्रविधि क्षेत्रमा ५६ करोड ९८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
तर उद्योगको संख्याका आधारमा भने सूचना प्रविधि क्षेत्र सबैभन्दा आकर्षक देखिएको छ। साउनमा स्वीकृत १९१ उद्योगमध्ये १२८ वटा सूचना प्रविधिसँग सम्बन्धित छन्। पर्यटन क्षेत्रमा ३३ र सेवा क्षेत्रमा १९ वटा उद्योग स्वीकृत भएका छन्।
स्वीकृत उद्योगमध्ये १८८ वटा साना, दुई वटा मझौला र एउटा ठूलो श्रेणीका छन्। यी उद्योग सञ्चालनमा आएपछि १ हजार ७७३ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।
वैदेशिक लगानी प्रक्रियालाई सहज बनाउन ल्याइएको स्वचालित मार्गमार्फत १८७ वटा उद्योगका लागि ३ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ। बाँकी चार उद्योगले विभागको नियमित प्रक्रियाबाट लगानी स्वीकृति पाएका छन्।
साउनमा उद्योग विभागले ५० जना लगानीकर्ता, ३६ जना प्रतिनिधि र ४८ जना आश्रितका लागि व्यावसायिक भिसा सिफारिस गरेको छ। यसैगरी, रोयल्टीबापत २४ करोड २१ लाख ९३ हजार रुपैयाँ र सेवा शुल्कबापत १७ लाख १८ हजार रुपैयाँ विदेश लैजान स्वीकृति दिइएको विभागले जनाएको छ।




