काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूले ४ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए। अघिल्लो वर्षको यसै अवधिको तुलनामा प्रभु इन्स्योरेन्स बाहेक सबै कम्पनीको मुनाफा घटेको छ ।
प्रभु इन्स्योरेन्सले समीक्षा अवधिमा २४ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको नाफा २० करोड ९८ लाख रुपैयाँ थियो। यससँगै कम्पनीको नाफा करिब २० प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा ओरिएन्टल इन्स्योरेन्स रहेको छ। कम्पनीले ४९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष भने कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा थियो।
दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस समीक्षा अवधिमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा १९.४६ प्रतिशतले घटेको हो ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको समीक्षा अवधिमा ३३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ३६.५३ प्रतिशतले घटेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस समीक्षा अवधिमा ३२ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ७५ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ५६.७५ प्रतिशतले घटेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा ३१ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा २२.३५ प्रतिशतले घटेको हो ।
नेको इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा २८ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ५७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५०.१९ प्रतिशतले घटेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १३ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ४५ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७१ प्रतिशतले घटेको छ।
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले ३३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनकिो नाफा ६१ प्रतिशतले घटेको हो ।
नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५९ प्रतिशतले घटेको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले यस समीक्षा अवधिमा ६ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १७ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६४ प्रतिशतले घटेको हो ।
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १५ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ६२ प्रतिशतले घटेको छ।
यता, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा सबैभन्दा ठूलो गिरावट आएको छ। कम्पनीले समीक्षा अवधिमा ४० लाख ३८ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीले ३६ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब ९८ प्रतिशतले घटेको हो।
नेशनल इन्स्योरेन्स कम्पनी भने घाटामा रहेको छ। कम्पनीले समीक्षा अवधिमा १३ करोड १० लाख ७५ हजार रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीको घाटा १५ करोड ७ लाख रुपैयाँ थियो।
समग्रमा, चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट देखिएको छ। अधिकांश कम्पनीको नाफा घट्दा प्रभु इन्स्योरेन्सले भने नाफा वृद्धि गर्न सफल भएको छ।






