काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भए पनि निष्क्रिय कर्जा बढेकाले जोखिम व्यवस्थापनतर्फ दबाब कायमै रहेको देखिएको छ ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार बैंकको खुद नाफा करिब २८.४७ प्रतिशतले बढेको हो ।
बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा भएको सुधारले मुख्य योगदान गरेको छ । तर, बैंकको निष्क्रिय कर्जा भने बढेको छ । अघिल्लो वर्ष ५.८१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर ६.६९ प्रतिशत पुगेको छ ।
निष्क्रिय कर्जा बढेपछि बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ । यद्यपि, अघिल्लो आवमा बैंकले २ अर्ब ७२ करोड ७ लाख रुपैयाँ प्रोभिजन गरेको थियो । प्रोभिजन रकम घटेका कारण पनि यस वर्ष बैंकको नाफा बढाउन सहयोग पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ९१ करोड ८१ लाख रुपैयाँबाट बढेर ९ अर्ब २१ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद फि तथा कमिसन आम्दानी बढेर १ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ५० पैसाबाट बढेर १९ रुपैयाँ ६३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ७ पैसा कायम भएको छ ।
बैंकको आधार दर ६.४९ प्रतिशतबाट घटेर ४.९५ प्रतिशतमा आएको छ । स्प्रेड दर भने ३.६९ प्रतिशतबाट सामान्य घटेर ३.६६ प्रतिशत कायम भएको छ । कस्ट अफ फन्ड पनि ५.२१ प्रतिशतबाट घटेर ३.८१ प्रतिशतमा आएको छ ।
बैंकको पुँजीकोष अनुपात ११.३३ प्रतिशतबाट बढेर १२.८७ प्रतिशत पुगेको छ भने प्राथमिक पुँजी अनुपात ९.८८ प्रतिशत रहेको छ । सीडी रेसियो ८३.९३ प्रतिशतबाट घटेर ८३.३६ प्रतिशतमा आएको छ ।
चुक्तापुँजी २० अर्ब ९५ करोड रुपैयाँ रहेको बैंकको सञ्चित नाफा १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ रहेको छ । नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ कायम भएको छ । यस आधारमा बैंकको लाभांश क्षमता करिब ९.१ प्रतिशत देखिन्छ ।
गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलन बढेर २ खर्ब ७७ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह पनि बढेर २ खर्ब २६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।




