काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको बैंकको नाफा गत वर्ष १२.२४ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा नियामकीय जगेडा कोषमा रकम छुट्याउनुअघिको नाफा १ अर्ब ४ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब १९ करोड ८३ लाख रुपैयाँ पुगेको छ । बक्यौता ब्याजबापत नियामकीय जगेडा कोषमा ११ करोड १२ लाख रुपैयाँ छुट्याएपछि पनि बैंकको वितरणयोग्य नाफा ९३ करोड ६४ लाख रुपैयाँबाट बढेर ९८ करोड २० लाख रुपैयाँ पुगेको छ ।
बैंकले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको छ । उक्त सेयरको लाभांशका लागि ७ करोड ५५ लाख रुपैयाँ छुट्याएकाले बैंकको लाभांश क्षमता ७.५१ प्रतिशतमा सीमित भएको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, खुद फि तथा कमिसन आम्दानी, नेट ट्रेडिङ आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा वृद्धि भएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँबाट बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब २८ करोड ५२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । नेट ट्रेडिङ आम्दानी पनि ३३ करोड २२ लाख रुपैयाँबाट बढेर ४८ करोड ११ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ४४ करोड ७ लाख रुपैयाँबाट बढेर ८ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा ३.९६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर ३.९८ प्रतिशत पुगेको छ । जसका कारण कर्जा नोक्सानी व्यवस्था ५५ करोड ६७ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८९ पैसाबाट बढेर १७ रुपैयाँ ८९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
बैंकको पुँजीकोष अनुपात १३.२१ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात १०.०४ प्रतिशत रहेको छ । आधार दर ५.०४ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.७९ प्रतिशतबाट घटेर ३.४८ प्रतिशतमा आएको छ ।
बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्ब १७ करोड ६० लाख रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँबाट बढेर १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ पुगेको छ ।




