काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा दुई दिनमै ५५ हजारभन्दा बढीले अवलोकन गरेका छन्। आयोजकका अनुसार एक्स्पोको दोस्रो दिन बिहीबार मात्रै २६ हजारभन्दा बढी दर्शक सहभागी भएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा मंगलबारदेखि सुरु भएको एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले अवलोकन गरेका थिए। आयोजकले ६ दिनसम्म सञ्चालन हुने एक्स्पोमा करिब डेढ लाख दर्शक भित्र्याउने अपेक्षा गरेको छ।
दोस्रो दिन विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक गरिएका छन् । पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए ।
एक्स्पोमा पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार तथा मोटरसाइकलको बुकिङसमेत गरिरहेका छन् । सहभागी कम्पनीहरूका अनुसार महँगा तथा सस्ता दुवै खालका कार र मोटरसाइकलप्रति ग्राहकको समान रुचि देखिएको छ।
डिल्लीबजारबाट एक्स्पो अवलोकन गर्न आएका दिनेश महर्जनले एक्स्पो आफ्नो क्षमताअनुसारको कार छनोट तथा बुकिङ गर्ने महत्वपूर्ण अवसर भएको बताए । विभिन्न ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी उपलब्ध भएकाले छनोट गर्न कठिन भइरहेको उनको भनाइ छ।
मेलामा अवलोकनकर्ताले विशेषगरी विद्युतीय सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज र आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् । ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन्।
एक्स्पोको दोस्रो दिन ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा ‘नाइमा मोबिलिटी संवाद’समेत आयोजना गरिएको थियो। संवादमा प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी सुरेशप्रसाद काफ्ले, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधि र नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवबहादुर थापा सहभागी थिए । संवादको सहजीकरण पत्रकार टिकाराम यात्रीले गरेका थिए। कार्यक्रममा ३०० भन्दा बढीको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) : मोबिलिटी-फ्युचर इकोनोमिक ग्रोथ’ विषयमा छलफल भएको थियो । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिनसम्म अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।




