गृह मन्त्रालयमा ठूलो दरबन्दी फेरबदल, १२९ पद थपिँदा सहसचिवको दरबन्दी ९ ले कटौती

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) २०८३ स्वीकृत गर्दै मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कर्मचारीको दरबन्दी हेरफेर गरेको छ। नयाँ ओएण्डएमअनुसार मन्त्रालयअन्तर्गत कुल १२९ दरबन्दी थपिएको छ भने सहसचिवको दरबन्दी ९ जनाले घटाइएको छ।

मन्त्रालयअन्तर्गत यसअघि ४ हजार ४८२ कर्मचारीको दरबन्दी रहेकामा नयाँ संरचनाअनुसार बढाएर ४ हजार ६११ पुर्‍याइएको छ। एक जना सचिवको दरबन्दी भने यथावत् राखिएको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेका अनुसार नयाँ ओएण्डएमको प्रतिवेदन स्वीकृत भइसकेको छ। उनका अनुसार मन्त्रालयअन्तर्गत सहसचिवको दरबन्दी ७५ बाट घटाएर ६६ कायम गरिएको छ।

यस्तै, उपसचिवको दरबन्दी ६ जना थप गरिएको छ। यसअघि १५५ रहेको उपसचिवको दरबन्दी अब १६१ पुगेको छ।

नयाँ ओएण्डएममा शाखा अधिकृत, नायब सुब्बा, खरिदार, स्वास्थ्य सेवातर्फका कर्मचारी तथा श्रेणीविहीन कर्मचारीको दरबन्दी भने बढाइएको छ।

शाखा अधिकृतको दरबन्दी ५३ थप गरी ५९१ बाट ६४४ पुर्‍याइएको छ। नायब सुब्बाको दरबन्दी ५१ थप गरी १ हजार ३७० बाट १ हजार ४२१ कायम गरिएको छ।

त्यसैगरी, खरिदारको दरबन्दी ३ जना थप गरिएको छ। यसअघि ७१४ रहेको खरिदारको दरबन्दी अब ७१७ पुगेको छ। स्वास्थ्य सेवातर्फ एकमुष्ट ८ दरबन्दी थप गरी १३८ बाट १४६ पुर्‍याइएको छ।

श्रेणीविहीन कर्मचारीको दरबन्दी पनि १७ जना थप गरिएको छ। यसअघि १ हजार ४३८ रहेको दरबन्दी अब १ हजार ४५५ पुगेको छ।

मन्त्रालयका अनुसार नयाँ दरबन्दीसम्बन्धी निर्णय तत्काल कार्यान्वयनमा भने आइसकेको छैन। प्रशासन महाशाखाले आवश्यक प्रक्रिया पूरा गरी छिट्टै नयाँ दरबन्दी संरचना कार्यान्वयनमा ल्याइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *