काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले सरकार गठन भएयता ८५३ सरकारी कार्यालयको अनुगमन गरेको जनाएको छ।
केन्द्रका अनुसार अनुगमनका क्रममा आचारसंहिता पालना नगरेका ८ हजार ८३० कर्मचारीविरुद्ध कारबाही गर्न सम्बन्धित अख्तियारवालालाई निर्देशन दिइएको छ।
केन्द्रले मुलुकमा सुशासन कायम गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा सरकारी निकायमा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले अनुगमनलाई तीव्र बनाइएको जनाएको छ।
केन्द्रका अनुसार राष्ट्रिय गौरव तथा अन्य योजनाको प्राविधिक परीक्षण, सेवा प्रवाहमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि ‘फाइल ट्र्याकिङ’ प्रणालीको कार्यान्वयन तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षणलगायतका काम पनि अघि बढाइएको छ।
राष्ट्रिय सतर्कता केन्द्रलाई थप अधिकारसम्पन्न बनाउने उद्देश्यसहित ‘सतर्कता ऐन’ तर्जुमा गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि केन्द्रले जनाएको छ।
आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सतर्कता अधिकृतको व्यवस्था गरी निगरानी तथा नियमन प्रणालीलाई थप प्रभावकारी बनाइने योजना रहेको छ।
सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीबाट आचारसंहिता उल्लङ्घन भएको वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना भए राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१–४२००३४५ मा सम्पर्क गरी जानकारी गराउन केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ।






