काठमाडौँ। स्मार्ट टेलिकमको धितो लिलामी प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालक समिति सदस्यहरूलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
जिल्ला अदालत काठमाडौँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा पक्राउ पुर्जी जारी गरेपछि बैंकका नेतृत्वकर्ताहरूको निवेदनमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले बैंकका अध्यक्षसहित सञ्चालक समितिका कसैलाई पनि तत्काल धरपकड र पक्राउ नगर्न अल्पकालीन आदेश जारी गरेको हो।
बैंकका मुख्य कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेमार्फत दर्ता गरिएको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उनीसहित बैंकका सञ्चालकहरू प्रजन्य राजभण्डारी, कविकुमार टिबरेवाल, दिपांकर शाक्य उदय, शालिकराम बेलबासे र शोभा श्रेष्ठलाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म वा अन्तरिम आदेशको छलफल नभएसम्म नियन्त्रणमा नलिन भनेको हो। सर्वोच्चलेदुवै पक्षलाई यही साउन २५ गते छलफलका लागि बोलाएको छ।




