देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्ने चेतावनी

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास र पश्चिमी क्षेत्रमा सरदरभन्दा केही उत्तरतर्फ रहेको छ।

हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेस प्रदेश तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली छ। बागमती र कर्णालीका केही स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्छ। तराईका केही स्थानमा पनि मध्यम वर्षाको अनुमान गरिएको छ।

राति पनि देशभर बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा वा हिमपात हुन सक्ने तथा तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

लगातारको वर्षासँगै नदी तथा खोलामा बहाव बढ्ने, बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *