अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबिच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धि र लगानी विस्तारका लागि सरकार र बैंकिङ क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

अर्थ मन्त्रालयले मंगलबार नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग गरेको छलफलमा उनले अर्थतन्त्र विस्तारका लागि बैंकहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए।

‘अर्थतन्त्रको आकार ७४ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य छ। त्यसका लागि लगानी र रोजगारी दुवै बढाउनुपर्छ,’ उनले भने, ‘बैंकहरूले कर्जा विस्तार गर्न किन सकिरहेका छैनन् ? नीतिगत वा व्यावहारिक समस्या छन् भने खुलस्त भन्नुहोस्, सरकारले सहजीकरण गर्छ।’

वाग्लेले बैंकिङ क्षेत्रले भोगिरहेका समस्या एकीकृत रूपमा मन्त्रालयमा पेस गर्न आग्रह गर्दै समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए।

छलफलमा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले लगानीको वातावरण नभएको भन्ने धारणा वास्तविकताभन्दा बढी रहेको बताएका थिए। उनीहरूले केही नियामकीय व्यवस्थाले बैंकिङ क्षेत्रलाई प्रभावित पारे पनि आवश्यक नीतिगत सुधारबाट अवस्था सहज बनाउन सकिने धारणा राखे।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत् क्षेत्रमा बैंकहरूको लगानी आकर्षण बढेको उल्लेख गर्दै अन्य उत्पादनमूलक क्षेत्रमा पनि लगानी विस्तारका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताए। उनले ठूला आयोजना समयमै सम्पन्न गर्न र निजी क्षेत्रको विश्वास बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए।

सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रको सुस्ततालाई आर्थिक चक्रको स्वाभाविक अवस्था भएको बताए भने ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले व्यवसायीको घट्दो आत्मविश्वास पुनःस्थापित गर्न सरकार र राष्ट्र बैंकले नीतिगत पहल गर्नुपर्ने धारणा राखे।

एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले ग्रामीण तथा विपन्न वर्गसम्म कर्जा विस्तार गर्नुपर्ने र सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले नयाँ आर्थिक वर्षमा उद्योगी–व्यवसायी लगानी विस्तारका लागि उत्साहित रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *