काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीहरूलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र कर्मचारी सञ्चय कोषका कामु सहप्रशासक भरतराज वस्तीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ । उक्त खातामार्फत कर्मचारीहरूले सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने बैंकले जनाएको छ । तलब व्यवस्थापन खातासँगै बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा, कार्डलगायत विभिन्न बैंकिङ सुविधा समेत उपलब्ध गराइनेछ ।
माछापुच्छ्रे बैंकले विभिन्न सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार कर्मचारी सञ्चय कोषसँगको सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कोषका कर्मचारीलाई थप सुविधाजनक तथा उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ ।




