प्रधानमन्त्री बालेनलाई ‘आधिकारिक च्यानलबाट आएको छैन’ भारत भ्रमणको निम्तो

काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो पठाइएको जनाएको छ। तर नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भने पछिल्लो समय कुनै औपचारिक निम्तो प्राप्त नभएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले साउन १२ गते आयोजित नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्तो पठाइएको पुष्टि गरेका हुन्। भारतीय सञ्चारकर्मीले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेको प्रश्नमा उनले निम्तो पठाइसकिएको बताए। भ्रमणको मिति र समयबारे भने उनले कुनै टिप्पणी गरेनन्।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको चार महिना बितिसक्दा पनि परम्पराअनुसार हुने पहिलो औपचारिक भारत भ्रमणको मिति तय हुन सकेको छैन। यहीबीच भारतीय पक्षको भनाइ सार्वजनिक भएपछि भ्रमणबारे नयाँ चासो देखिएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहलाई पछिल्लो समय भारतबाट कुनै औपचारिक कूटनीतिक च्यानलमार्फत भ्रमणको निम्तो आएको छैन। स्रोतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री नियुक्तिपछि पठाएको बधाई सन्देशसँगै भ्रमणको अनौपचारिक निम्तो दिएको उल्लेख गर्दै त्यसयताका लागि नयाँ निम्तो प्राप्त नभएको जनाएको छ।

स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ताले त्यही पुरानो निम्तोलाई आधार मानेर प्रतिक्रिया दिएको हुन सक्ने आकलन गरिएको छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्री शाहले मोदीको निम्तो स्वीकार गरिसकेको र भ्रमणका लागि सैद्धान्तिक सहमति भएको बताएका थिए। नवौं हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भ्रमणको मिति दुवै देशका संयन्त्रले तय गर्ने बताएका थिए।

यसबीच भारतीय विदेश सचिव विक्रम मिस्रीको वैशाख अन्तिम साता हुने भनिएको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको थियो। परराष्ट्र मन्त्रालयले त्यसबेला मिति नमिलेको जनाएको भए पनि प्रधानमन्त्री शाहले भारतीय विदेश सचिवसँग द्विपक्षीय भेट गर्न अस्वीकार गरेपछि भ्रमण रोकिएको दाबी स्रोतहरूले गर्दै आएका छन्।

पछिल्ला महिनाहरूमा प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयको औपचारिक संयन्त्रभन्दा बाहिरबाट पनि कूटनीतिक सम्पर्क बढाएको स्रोतहरूको भनाइ छ। स्रोतका अनुसार उनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (बेन) जुलाईको पहिलो साता नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसहित केही उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भेट भएको पुष्टि गरे पनि छलफलका विषयबारे मन्त्रालयलाई औपचारिक जानकारी नदिइएको बताए।

यसैक्रममा प्रधानमन्त्री शाहले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ताको तयारी थालेका छन्। यिनै घटनाक्रमबीच भारतीय विदेश मन्त्रालयले भ्रमणको निम्तो पुष्टि गरेपछि प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे फेरि चासो बढेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *