सुनसरी घटनाबारे रवि लामिछाने: विवादको समाधान हिंसा र मुठभेडबाट हुँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी तराईका जिल्लामा हालै भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दुःख व्यक्त गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै उनले घटनाले सिर्जना गरेको तनावपूर्ण अवस्थाप्रति पार्टी स्तब्ध र मर्माहत भएको बताएका हुन्।

लामिछानेले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्। अफवाह र उत्तेजनाबाट टाढा रहँदै संयमता अपनाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

रास्वपाले सरकार र स्थानीय प्रशासनसँग शान्ति सुरक्षा कायम गर्न तथा अवस्था सामान्य बनाउन सहकार्य गरिरहेको जनाएको छ। साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, पीडितलाई न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा रास्वपा शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै समस्याको समाधान संवादमार्फत खोज्न तयार रहेको जनाएको छ। साथै, घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सरोकारवालासँग आग्रह गर्दै पार्टीका स्थानीय समिति तथा कार्यकर्तालाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिइएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *