काठमाडौं — नबिल बैंकले ४२ वर्ष पूरा गरी ४३औँ वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा स्थापना भएको बैंकले वार्षिकोत्सवका अवसरमा आफ्नो वित्तीय अवस्था, सेवा विस्तार तथा उत्पादनशील क्षेत्रमा भएको लगानी सार्वजनिक गरेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्म बैंकको कुल सम्पत्ति ७ खर्ब १८ अर्ब ४३ करोड रुपैयाँ पुगेको जनाएको छ।
बैंकले कृषि, ऊर्जा, साना तथा मझौला उद्यम र पर्यटनलाई प्राथमिकताका क्षेत्रमा राखेर लगानी विस्तार गरेको जनाएको छ। कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु तथा मझौला उद्यममा ४५ अर्ब ९२ करोड रुपैयाँ र पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ।
हाल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम र १८ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ। बैंकका अनुसार २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको संस्थामा हाल २ हजार ४६४ कर्मचारी कार्यरत छन्।
डिजिटल बैंकिङ विस्तारअन्तर्गत बैंकले ‘एनबैंक’ एपमार्फत खाता खोल्नेदेखि विभिन्न डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।
नबिल बैंकले हालसम्म आठ पटक ‘सर्वाधिक करदाता’ र १० पटक ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ अवार्ड प्राप्त गरेको जनाएको छ। आगामी दिनमा पनि उत्पादनशील क्षेत्रमा लगानी, डिजिटल सेवा विस्तार तथा दिगो वित्तलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बैंकको भनाइ छ।




