डेढ करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं ।नेपाल प्रहरीले करिब १ करोड ४९ लाख रुपैयाँ बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरेको रकम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी–५ निवासी २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा प्रजापतिले १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ।

प्रहरीका अनुसार उनको विभिन्न डिजिटल खातामा सात हजार ४८५ अमेरिकी डलर (करिब ११ लाख ४२ हजार रुपैयाँ) मौज्दात रहेको पनि फेला परेको छ।

प्रजापतिलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको खरिद–बिक्री तथा कारोबारलाई गैरकानुनी घोषणा गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *