काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण कार्यक्रम बुधबार हुने भएको छ।
पार्टीका अनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथ गराइनेछ। शपथग्रहणपछि नवगठित केन्द्रीय समितिको पहिलो बैठक पनि बस्ने तयारी छ।
चितवनमा असार ७ गतेदेखि सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित तीन दिनमा टुंगिन नसकेपछि सहमतिको प्रयासका बीच ६ दिन लम्बिएको थियो। महाधिवेशन असार १२ गते सम्पन्न भएको थियो।
महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत चयन गरेको थियो। उपसभापतिमा डा. स्वर्णिम वाग्ले र सोभिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका छन्। महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति पनि चयन गरिएको छ।
संशोधित विधानअनुसार रास्वपाको १५० सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने बाँकी ५१ जना सभापतिले केन्द्रीय समितिको सिफारिसमा मनोनयन गर्ने व्यवस्था छ। शपथग्रहण र पहिलो केन्द्रीय समिति बैठकपछि मनोनयन प्रक्रिया अघि बढ्ने जनाइएको छ।
यसैबीच, निर्वाचन समितिले सार्वजनिक गरेको ९९ सदस्यीय केन्द्रीय समितिको अन्तिम सूचीमा दुई जनाको नाम परिवर्तन गरिएपछि पार्टीभित्र विवाद देखिएको छ। प्रारम्भिक नतिजामा समावेश भएका दुई उम्मेदवारको स्थानमा पछि अन्य दुई जनाको नाम राखिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
संस्थापन पक्षले भने क्लस्टर र मतगणनासम्बन्धी प्राविधिक त्रुटि सच्याइएको दाबी गरेको छ। यद्यपि, सूची हेरफेरको विषयलाई लिएर महाधिवेशन प्रतिनिधि र केही उम्मेदवारले प्रश्न उठाएका छन्। कम मतदान र महाधिवेशनपछिको असन्तुष्टिलाई व्यवस्थापन गर्दै पार्टीलाई एकताबद्ध बनाउनु नवनिर्वाचित नेतृत्वका लागि तत्कालको चुनौतीका रूपमा देखिएको छ।




