पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगम सञ्चालक समितिको मंगलबारको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको नयाँ मूल्य मंगलबार रातिदेखि लागू भएको हो।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ।

मूल्य समायोजनपछि पहिलो वर्गका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम भएको छ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा बिक्री हुने हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर २५६ अमेरिकी डलरले घटाइएको छ। पोखरा र भैरहवामा भने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार समायोजित मूल्य निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटर दूरीभित्रका बिक्री केन्द्रमा लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *