देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं — देशभर मनसुनी वायुको प्रभाव सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुन फैलिएको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका धेरै र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि देशभर बदली रहने पूर्वानुमान छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपात, पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *