काठमाडौं — फिफा विश्वकप फुटबल प्रतियोगितामा फ्रान्स र नर्वे अन्तिम १६ मा प्रवेश गरेका छन्।
न्यूजर्सीमा आइतबार राति भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्यो।
फ्रान्सको जितमा किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे।
एम्बाप्पेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५३औँ मिनेटमा बारकोलाले अग्रता दोब्बर बनाए भने ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको सहज जित सुनिश्चित गरे। अन्तिम १६ मा फ्रान्सले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।
यता डलासमा भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो।
नर्वेलाई अग्रता दिलाउन ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे। ७४औँ मिनेटमा अमाद डियाल्लोले गोल गर्दै आइभरी कोस्टलाई खेलमा फर्काए पनि ८६औँ मिनेटमा एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई जित दिलाए।
नकआउट चरणमा नर्वेले अब ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।




