५ लघुवित्तलाई राष्ट्र बैंकले गर्यो शीघ्र सुधारात्मक कारवाही, सिइओ र सञ्चालकलाई गरायो सचेत !

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारवाही गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा न्यूनतम पूँजीकोष अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले पाँच लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही गरेको हो ।

कारबाहीमा आरम्भ चौतारी, गणपति, सामुदायिक, नेरुडे मिर्मिरे र सीवाईसी लघुवित्त वित्तीय संस्था परेका छन्।

राष्ट्र बैंकका अनुसार यी संस्थाले नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने न्यूनतम ८ प्रतिशत पूँजीकोष अनुपात पूरा गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ अनुसार कारबाही गरिएको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आरम्भ चौतारी लघुवित्तको २०८२ असार मसान्तमा पूँजीकोष अनुपात ७.७७ प्रतिशत, गणपति लघुवित्तको २०८२ असोज मसान्तमा ६.०६ प्रतिशत, सामुदायिक लघुवित्तको ६.१२ प्रतिशत तथा सीवाईसी लघुवित्तको ६.२० प्रतिशत रहेको छ। नेरुडे मिर्मिरे लघुवित्तले पनि न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेपछि कारबाहीमा परेको हो।

यसैबीच, राष्ट्र बैंकले एक लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पनि सचेत गराएको छ। संस्थाले कर्जा नोक्सानी व्यवस्थाअन्तर्गत राखिएको ८१ करोड ५५ लाख रुपैयाँ सम्बन्धित ऋणीको विवरण यकिन नगरी आम्दानीमा फिर्ता गरेको पाइएपछि सीईओलाई सचेत गरिएको हो।

त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सिर्जना थापासहित सञ्चालक समितिका सदस्यहरूलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *