मधेशका अर्थमन्त्रीको गाडी तोडफोड आरोपमा एक जना पक्राउ

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार उनलाई मधेश भवनभित्रै सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो।

घटना बुधबार बिहान ११ बजे भएको हो। मन्त्री भट्टराई चढ्ने ज १ झ ४४१ नम्बरको गाडी मन्त्रालय अगाडि पार्किङमा राखिएको अवस्थामा राष्ट्रिय झन्डा तोडफोड गरी फालिएको थियो।

स्कारपियोमा आएका व्यक्तिले गाडी वरिपरि हेरेपछि झन्डा भाँचेर भुइँमा फालेको र त्यसपछि फोनमा कुरा गर्दै मन्त्रालय परिसरभित्र प्रवेश गरेको सीसीटीभीमा देखिएको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *