इरानले भन्यो– ट्रम्पको धम्कीपछि अमेरिकासँगको वार्ता बीचमै छाड्यौं

काठमाडौं — स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच जारी वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिपछि अवरुद्ध भएको इरानी पक्षले जनाएको छ।

इरानी वार्ता टोलीका प्रमुख मोहम्मद बाकर गालिबाफले सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले इरानका राष्ट्रपति, वार्ता टोली र देशको भूभागमाथि आक्रमण गर्ने चेतावनी दिएको जानकारी पाएपछि आफूहरूले वार्ता छाडेको बताएका हुन्।

उनका अनुसार करिब ८० मिनेटसम्म छलफल चलिरहेका बेला ट्रम्पको उक्त अभिव्यक्तिबारे जानकारी प्राप्त भएको थियो।

“मैले अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई हामी वार्ताका लागि आएको र कुनै पनि प्रकारको धम्की वा दबाब स्वीकार्य नहुने सम्झौताको आधारभूत सर्त भएको स्पष्ट पारेँ,” गालिबाफले भने, “तर अमेरिकी राष्ट्रपतिले त्यसविपरीत धम्की दिएका कारण हामीले वार्ता निरन्तरता दिन सकेनौं।”

गालिबाफका अनुसार त्यसपछि इरानी प्रतिनिधिमण्डलले बैठकस्थल छाडेको थियो र पुनः वार्तामा फर्किएन।

उनले अमेरिकी पक्षले पछि मध्यस्थमार्फत अर्को चरणको वार्ताको प्रस्ताव गरेको पनि बताए। तर इरानले उक्त प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ।

“कतार र पाकिस्तानका मध्यस्थहरू हामीकहाँ आएका थिए। हामीले उनीहरूलाई इरान संवादका लागि तयार रहेको, तर अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता नगर्ने जानकारी दियौं,” उनले भने।

गालिबाफले कतार र पाकिस्तानले संयुक्त रूपमा सार्वजनिक गरेको वक्तव्यअनुसार नै छलफलको निष्कर्ष तय भएको समेत बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *