भारतीय पर्यटकले पोखराका होटल भरिभराउ, डेढ महिनामा डेढ लाख आगमन

पोखरा — पछिल्ला डेढ महिनायता भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेपछि पोखराको पर्यटन तथा होटल व्यवसायमा नयाँ उत्साह देखिएको छ।

लेकसाइड, फेवातालस्थित तालबाराही मन्दिरलगायत प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको चहलपहल बढेको व्यवसायीहरूले बताएका छन्।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार भारतमा बढ्दो गर्मी र बिदाको समय सदुपयोग गर्न भारतीय पर्यटकले नेपाललाई सहज तथा आकर्षक गन्तव्यका रूपमा रोज्न थालेका छन्।

तालबाराही, विन्ध्यवासिनी, मुक्तिनाथलगायत धार्मिक स्थल तथा विभिन्न पदयात्रा मार्गमा भारतीय पर्यटकको उपस्थिति उल्लेख्य रहेको उनले बताए।

पर्यटक आगमनसँगै डुङ्गा सयर, प्याराग्लाइडिङ, र्याफ्टिङ, बन्जी जम्प तथा पदयात्राजस्ता साहसिक गतिविधिमा समेत चाप बढेको छ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनका सहसचिव धनबहादुर विकका अनुसार फेवातालमा दैनिक चारदेखि पाँच हजारसम्म भारतीय पर्यटकले डुङ्गा सयर गरिरहेका छन्।

बाराही घाटबाट मात्रै दैनिक १४० वटा डुङ्गा सञ्चालनमा रहेको उनले बताए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाका अनुसार पछिल्लो डेढ महिनामा करिब डेढ लाख भारतीय पर्यटक पोखरा आएका छन्।

उनीहरू धार्मिक भ्रमणसँगै छोटो दूरीका पदयात्रा र साहसिक पर्यटन गतिविधिमा आकर्षित भएका छन्।

भारतीय पर्यटकको आगमनले पाँचतारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ हुन थालेको व्यवसायीहरूको भनाइ छ।

होटल व्यवसायी पार्वती पाण्डेले भारतीय पर्यटकले कोठाको मूल्यभन्दा खानाको मूल्यमा बढी मोलमोलाइ गर्ने गरेको बताइन्।

भारतमा नेपालको धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसार गर्न सके पर्यटक संख्या अझ बढ्ने उनको विश्वास छ।

सामान्यतया अफसिजन मानिने समयमा पनि यस वर्ष पर्यटकको चाप बढेपछि पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

व्यवसायीहरूका अनुसार पछिल्लो एक महिनामा मात्र पोखरामा करिब डेढ लाख भारतीय पर्यटक भित्रिएका छन् भने होटलहरूको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको छ।

भारतीय पर्यटकले विशेषगरी तालबाराही, विन्ध्यवासिनी, केदारेश्वर, पुग्दीको शिव मन्दिर, मुक्तिनाथ र मनकामना मन्दिरको भ्रमण गर्ने गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *