काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा झण्डै १९ खर्बको वस्तु आयात भएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँको वस्तु आयात भएको हो । जुन आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो ।
सोही अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्यांक छ।
११ महिने अवधिमा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात १२.२८ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १२.२८ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो। निर्यातमा वृद्धि भएसँगै आयात पनि १५.१६ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विभिन्न मुलुकबाट १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो, जुन आर्थिक वर्ष २०८१/८२ को तुलनामा १२.५४ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा व्यापार घाटा भने १५.६७ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ थियो।






