अमेरिका र इरानबीच सम्झौतापछि तेलको मूल्यमा गिरावट, शेयर बजार बढ्यो

काठमाडौँ — अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा भएको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आउने घोषणा गरेसँगै सोमबार एसियाली बजार खुलेको प्रारम्भिक कारोबारमै तेलको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो।

विश्व बजारको प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य ४ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८१ अमेरिकी डलरमा झरेको छ।

अमेरिकी बजारमा कारोबार हुने डब्लुटिआई कच्चा तेलको मूल्य पनि ४.७ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.८९ डलर पुगेको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीच सहमति भइसकेको तथा आगामी जुन १९ मा स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने बताएका छन्।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पनि सम्झौता अन्तिम चरणमा पुगेको पुष्टि गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत तेल आपूर्ति पुनः सहज हुने संकेत गरेका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण थालेपछि होर्मुज जलडमरूमध्य क्षेत्र तनावग्रस्त बनेको थियो।

विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले अवरोधका कारण ऊर्जा बजार प्रभावित भएको थियो।

द्वन्द्वका क्रममा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब ७० डलरबाट बढेर १२० डलरसम्म पुगेको थियो।

यद्यपि ऊर्जा क्षेत्रका विज्ञहरूले होर्मुजमार्फत हुने ढुवानी तत्काल पूर्ण रूपमा सामान्य नहुने बताएका छन्।

समुद्री मार्गमा राखिएका बारुदी सुरुङ हटाउन र आपूर्ति शृंखला पूर्ववत् बनाउन अझै समय लाग्न सक्ने उनीहरूको भनाइ छ।

सम्झौतापछि एसियाली सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ।

जापानको निक्की सूचकांक ४.३ प्रतिशत र दक्षिण कोरियाको केओएसपीआई सूचकांक ५ प्रतिशतभन्दा बढीले बढेको छ।

ऊर्जा आपूर्ति सहज हुने अपेक्षासँगै लगानीकर्ताको विश्वास बढेको विश्लेषकहरूले बताएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *