न्युयोर्क । अमेरिकी उद्यमी एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा अपेक्षाभन्दा निकै उच्च लगानीकर्ताको रुचि देखिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार कम्पनीले ७५ अर्ब अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखे पनि हालसम्मको माग २५० अर्ब डलरभन्दा बढी पुगेको छ।
आईपीओको मूल्य निर्धारण बिहीबार हुने तयारी छ। अन्तिम मूल्य तय नभएसम्म आवेदनको आकार परिवर्तन हुन सक्ने र हाल प्राप्त आवेदनहरू रुचि अभिव्यक्ति मात्र भएकाले अन्तिम माग अझै बढ्न सक्ने अनुमान गरिएको छ।
ठूला संस्थागत लगानीकर्ताहरूले प्रायः अन्तिम चरणमा आवेदन दिने भएकाले माग थप बढ्ने सम्भावना रहेको बताइएको छ।
आईपीओअघि कम्पनीले सम्भावित लगानीकर्तासँग भेटघाट र प्रस्तुतीकरणलाई तीव्र बनाएको छ।
कम्पनीकी अध्यक्ष ग्वेन शटवेल र वित्त प्रमुख ब्रेट जोन्सनले न्युयोर्कमा आयोजित लगानीकर्ता कार्यक्रममा स्पेस एक्सको भावी योजना र व्यवसायिक सम्भावनाबारे जानकारी दिएका थिए।
एलन मस्कले पनि केही भर्चुअल बैठकमा सहभागी भई लगानीकर्तासँग संवाद गरेका थिए।
कम्पनीले आफ्नो आईपीओसम्बन्धी दस्तावेजमा स्टारलिङ्क इन्टरनेट सेवाको तीव्र विस्तार र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको सम्भावनालाई प्रमुख आधार बनाएको छ।
स्पेस एक्सले अन्तरिक्षमा डेटा सेन्टर तथा पूर्वाधार विकासमार्फत एआई बजारका अवसर उपयोग गर्ने योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार अन्तरिक्ष पहुँचको लागत घटाउँदै विश्वभर इन्टरनेट पहुँचबाट वञ्चित रहेका अर्बौं मानिसलाई डिजिटल सञ्जालमा जोड्ने लक्ष्य राखिएको छ।
साथै, पृथ्वीमा रहेका पूर्वाधार तथा ऊर्जा सीमिततालाई अन्तरिक्षमा आधारित प्रविधिमार्फत समाधान गर्न सकिने दाबी पनि कम्पनीले गरेको छ।
स्पेस एक्सको आईपीओ हालसम्मकै सबैभन्दा ठूलो र धेरै चासोको सार्वजनिक निष्कासनमध्ये एक बन्न सक्ने विश्लेषण गरिएको छ।







