काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहसँग सम्बन्धित शक्तिहरूबाट प्रधानमन्त्री र आफूविरुद्ध नियोजित रूपमा आक्रमण भइरहेको दाबी गरेका छन्।
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा बुधबार बजेटसम्बन्धी छलफलका क्रममा बोल्दै उनले सरकार वित्तीय अनियमिततासम्बन्धी गम्भीर प्रकरणको छानबिनमा जुटेकाले त्यसबाट असन्तुष्ट समूहहरूले विभिन्न माध्यमबाट दबाब सिर्जना गर्न खोजिरहेको आरोप लगाए।
वाग्लेले प्रधानमन्त्री र आफूलाई लक्षित गर्दै संगठित रूपमा घेराबन्दी र आक्रमण भइरहेको भन्दै त्यसको पछाडि ठूलो वित्तीय अपराधमा संलग्न व्यक्तिहरू तथा तिनका हितसमूह रहेको आशंका व्यक्त गरे।
“नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनभित्रै यो विषय अदालतमा पुग्दैछ,” उनले भने, “त्यसबाट रुष्ट भएका समूहबाट पालित–पोषित शक्तिहरूले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन् भन्ने मेरो शंका छ।”
उनले संसद्का सदस्यहरूलाई पनि यस्ता समूहबाट फैलाइने सूचना वा प्रचारप्रति सजग रहन आग्रह गरे। अपुष्ट आरोप र हल्लाका आधारमा संसद्को गरिमा कमजोर पार्ने काम हुन नहुने उनको भनाइ थियो।
बजेटमाथिको छलफलका क्रममा पछिल्ला दिनमा सार्वजनिक रूपमा उठाइएका विभिन्न आरोपप्रति संकेत गर्दै वाग्लेले तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्नेमा जोड दिए। उनले राज्यका निकायले कानुनी प्रक्रियाअनुसार अनुसन्धान गरिरहेको उल्लेख गर्दै छानबिनको निष्कर्ष आउनुअघि भ्रम र अफवाह फैलाउन नहुने बताए।
अर्थमन्त्रीको उक्त अभिव्यक्तिपछि समितिको बैठकमा केही समय वित्तीय अपराध, अनुसन्धान प्रक्रिया र त्यससँग जोडिएका राजनीतिक प्रभावबारे समेत छलफल भएको थियो।







