प्रतिनिधि सभा अवरोध गरेर बजेटमाथि भ्रम फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमाथि केन्द्रित हुनुपर्ने समयमा प्रतिनिधि सभा अवरोध गरेर आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको दाबी गरेका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटबारे तथ्यगत छलफल हुनुपर्ने ठाउँमा अनावश्यक विवाद सिर्जना गरिएको बताएका हुन्।

उनले प्रतिनिधि सभामा बजेटमाथि छलफल हुन नदिई आफ्नो व्यक्तिगत छविमाथि आक्रमण गर्ने उद्देश्यले विभिन्न अफवाह फैलाइएको उल्लेख गरे। “बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,” उनले भने, “त्यसको जवाफ दिन पनि म संसदीय समितिमा आएको हुँ।”
वाग्लेले बजेटका विषयमा उठाइएका प्रश्नको तथ्य र प्रमाणका आधारमा जवाफ दिन आफू तयार रहेको बताए। उनले सरकारले ल्याएको बजेट आर्थिक सुधार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा निजी क्षेत्रको मनोबल उकास्ने लक्ष्यसहित तयार गरिएको जिकिर गरे।

अर्थ समितिको बैठकमा हाल आर्थिक वर्षको बजेटका विभिन्न पक्षबारे छलफल जारी छ। बैठकमा सांसदहरूले बजेटका प्राथमिकता, स्रोत व्यवस्थापन तथा कार्यान्वयनका विषयमा प्रश्न उठाइरहेका छन् भने अर्थमन्त्री वाग्लेले त्यसको जवाफ दिइरहेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *