काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशतले बढेर ७९ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा निक्षेप वृद्धि ६.२ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार वार्षिक आधारमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १६ प्रतिशतले बढेको छ।
वैशाख मसान्तसम्म कुल निक्षेपमध्ये बचत निक्षेपको हिस्सा ४६.२ प्रतिशत, मुद्दती निक्षेपको ३८.२ प्रतिशत र चल्ती निक्षेपको ६.८ प्रतिशत रहेको छ।
संस्थागत निक्षेपको हिस्सा भने घटेर ३३.७ प्रतिशतमा झरेको छ।
यस अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले बढेर ५८ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा कर्जा वृद्धि ७.३ प्रतिशत रहेको थियो। वार्षिक आधारमा निजी क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
कुल निजी क्षेत्र कर्जामध्ये ६२.७ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्र र ३७.३ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा प्रवाहित भएको छ।
समीक्षा अवधिमा वाणिज्य बैंकको कर्जा ५.८ प्रतिशत, विकास बैंकको ५ प्रतिशत र वित्त कम्पनीको २.९ प्रतिशतले बढेको छ।
कर्जा सुरक्षणका आधारमा हेर्दा कुल कर्जामध्ये ६३.५ प्रतिशत घरजग्गा धितोमा र १४.९ प्रतिशत चालु सम्पत्ति तथा कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा प्रवाहित भएको छ।
क्षेत्रगत रूपमा निर्माण क्षेत्रमा कर्जा १२.८ प्रतिशत, उपभोग क्षेत्रमा १२.३ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रमा ३.३ प्रतिशत तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रमा १ प्रतिशतले बढेको छ। कृषि क्षेत्रतर्फको कर्जा भने २.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
कर्जाको प्रकृतिअनुसार आयात कर्जा ३६.१ प्रतिशत, मार्जिन कर्जा १५.५ प्रतिशत, हायर पर्चेज कर्जा ९.१ प्रतिशत, रियलस्टेट तथा आवासीय घर कर्जा ५.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत र आवधिक कर्जा ४ प्रतिशतले बढेको छ। अधिविकर्ष कर्जा भने ०.७ प्रतिशतले घटेको छ।






