अमेरिकाद्वारा ६० व्यापारिक साझेदारमाथि थप कर लगाउने चेतावनी, थपिए भारत र चीन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत, ईयू, भारत, चीनसहितका ६० व्यापारिक साझेदार देशका उत्पादनमा १०–१२.५ प्रतिशतसम्म थप भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनले भारतसहित ६० वटा अर्थतन्त्रबाट आयात हुने सामानमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन्।

रोयटर्सका अनुसार बाध्यकारी श्रमबाट उत्पादित सामानको  व्यापार नियन्त्रण गर्न यी देश असफल भएको आरोप लगाउँदै अमेरिकाले उक्त अतिरिक्त शुल्क लगाउने  प्रस्ताव अघि सारेको हो।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा क्यानडा, मेक्सिको, ताइवान, बेलायत, युरोपेली संघ (ईयू), इन्डोनेसिया, मलेसिया र पाकिस्तानलगायतका देशका वस्तुमा १० प्रतिशत अतिरिक्त शुल्क लगाइने उल्लेख छ।

यस्तै, भारत, चीन, जापान, दक्षिण कोरिया, ब्राजिल, स्वीट्जरल्यान्डलगायत मुलुकका उत्पादनमा १२.५ प्रतिशत अतिरिक्त शुल्क लगाइने बताइएको छ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिले भने, ‘हाम्रा  व्यापारिक साझेदारले जबर्जस्ती श्रमबाट उत्पादित वस्तु आयात रोक्न नसक्नु अस्वीकार्य छ। यसले यस्तो अवस्था सिर्जना गर्छ, जहाँ अमेरिकी श्रमिक असमान प्रतिस्पर्धाको सामना गर्न बाध्य हुन्छन्।’

थप भन्सार शुल्क प्रस्तावले व्यापारिक साझेदार मुलुक अमेरिकासँग निरास भएका छन्। भारतसँग व्यापारिक सम्झौतामा हस्ताक्षर हुनै लाग्दा अमेरिकाले थप शुल्कको घोषणा गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *